काठमाडौं– प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले आइतबार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
कार्कीले आइतबार नै एमाले–माओवादीसहित ४ दलको समर्थनमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए। कार्कीले एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० जना प्रदेश सांसद्को हस्ताक्षर (समर्थन)सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
कार्कीले सोमबार प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।
प्रदेश प्रमुख खापुङले पुस १७ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २४ गते बेलुकी ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए। सोहीअनुसार कार्कीले आइतबार ५ बज्नुअघि नै एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा दाबी पेस गरेका थिए।
मुख्यमन्त्रीका लागि प्रदेश १ मा न्युनमत ४७ सिटको आवश्यकता पर्छ। प्रदेश १ सभामा ९३ सांसद छन्।
कार्की गत पुस १० गते सर्वसम्मत रुपमा एमाले संसदीय दलको नेतामा चयन भएका थिए। त्यसदिन बसेको एमालेको नवनिर्वाचित प्रदेश सभा सदस्यको भेलामा तिलकुमार मेन्याङ्बोको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा उनी संसदीय दलको नेता चयन भएका थिए।
कार्की प्रदेश १ को पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री समेत हुन्। त्यस्तै, उनी एमालेको स्थायी कमिटी सदस्य समेत हुन्। मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा उनी झापा- ५ (१) बाट निर्वाचित भएका थिए।
माओवादी केन्द्रले पनि यो प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको थियो। तर अन्तिममा एमालेले लिने सहमति भएसँगै कार्कीको लागि बाटो खुलेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।