काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदी बोझेनीस्थित विद्युत् प्राधिकरणको सब–स्टेशन निर्माणको विरोध गर्दा स्थानीयमाथि ज्याददी गरेको भन्दै एक प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई जिम्मेवारी मुक्त गराइएको छ। स्थानीयले अवरोध गरेपछि थप मद्दतका लागि भन्दै प्रहरी वृत्त बौद्धबाट इन्सपेक्टर बिशालबहादुर बुढाथोकीको टोली घटनास्थल पुगेको थियो।
थप मद्दतका लागि पुगेको टोलीले प्रदर्शन गरेका स्थानीयमाथि अमानवीय व्यवहार गर्दै पेस्तोल समेत तोकेको आरोप लागेको थियो। स्थानीयमाथि अमानवीय र गैरव्यवसायिक कार्य गरेको भिडिओ सार्वजनिक भएपछि इन्सपेक्टर बुढाथोकीलाई जिम्मेवारी मुक्त गराइएको हो।
बुढाथोकीलाई जिम्मेवारीमुक्त गराउँदै छानबिनका लागि जिल्ला प्रहरी परिसर टेकु तानिएको परिसरका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले जानकारी दिए। उक्त घटनाका बारेमा थप छानबिन गरिने र दोषी पाइएमा कारबाही गर्ने परिसरले जनाएको छ।
काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा विद्युत् सबस्टेशन निर्माणको विषयमा स्थानीयले ३ वर्षदेखि विरोध जनाइरहेका छन्।
अवरोधका कारण तामाकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइनको ५ वटा टावर निर्माण हुन नसकेको प्रधिकरणले जनाएको छ।
लप्सीफेदी सबस्टेसन निर्माणका लागि करिब ७० जग्गाधनीहरुको १७० रोपनी जग्गा अधिग्रहणका लागि २०७४ माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो। एउटा कित्ताका जग्गाधनी बाहेक अन्य सबैले मुआब्जा तथा क्षतिपूर्तिक रकम बुझिसकेका छन्।
तर, मानव बस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरु नै ठाउँमा सार्नुपर्ने माग राख्दै स्थानीयले सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।