काठमाडौं– प्रदेश १ मा नेकपा (एमाले)ले सरकारको दाबी पेश गर्ने तयारी गरेको छ। एमालेबाट संसदीय दलका नेता हिम्मत कार्कीले मुख्यमन्त्री दाबी पेश गर्न लागेको प्रदेश १ का संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए। प्रदेश १ मा एमाले र माओवादी मिल्दा बहुमत पुग्ने देखिन्छ।
एमालेसँग ४० र माओवादीसँग १३ सिट छन्।। केन्द्रीय गठबन्धनमा सामेल रहेको राप्रपाको ६ सिट र जसपाको १ सिट थपिँदा सरकारलाई ६० सांसदको समर्थन पुग्नेछ।
नेपाली कांग्रेससँग २९ सिट छ। प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समयसीमा आइतबार साँझ ५ बजे सकिँदैछ। प्रदेश प्रमुखले दिएको समय समाप्त हुनुअघि दाबी पेश गर्ने एमालेको तयारी छ।
प्रदेश १ मा माओवादी र जसपाको पनि सर्मथन लिँदै सरकार निर्माण गर्न सबैसँग एमालेले छलफल गरिरहेको छ।
उनीहरु पहिलो चरणमा सरकारमा नआएर एमाले र माओवादीबाट सरकारमा सहभागीहरुको मात्र सपथ गराउने तयारी गरिएको भण्डारीले बताए।
‘सकेसम्म सत्ता साझेदार सबै दल मिलाएर सानो सरकार बनाउने तयारी छ सम्भव नभए दुई दलको सरकार सुरुमा निर्माण हु्रन्छ,’ उनले, ‘सकभर सत्ता गठवन्धनभित्रका दलहरु मिलाएर लैजाने प्रयास हुन्छ। केन्द्रबाट पनि आइतबारनिर्देशन आउँछ अनि दाबी पेश गर्छौ।’
कार्की २०७४ सालमा कानुन मन्त्री भएका थिए। उनी स्थायी समिति सदस्य हुन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट हुन्। बहुमत नभएकाले कांग्रेस प्रतिपक्षमा बस्ने तयारी गरिरहेको छ।
मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोले पनि दाबी गरिहेका छन्। तर, उनको सम्भावना भने कम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।