काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय २६ गते बिहानको बैठकबाट निर्णय गर्ने भएको छ। शनिबार दिउँसो पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले विश्वासको मतबारे निर्णय गर्न २६ गतेको भाका राखेको हो।
‘जुन दिन प्रधानमन्त्रीले विश्वासको मतको निम्ति आफूलाई प्रस्तुत गर्नुहुन्छ, त्यसै दिन बिहान ९ बजे हामी बैठक बस्छौं। त्यो बैठकपछि निर्णय गर्छौं', संसदीय दलको बैठकपछि कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले भने, ‘यो पुरानो प्रचलन पनि हो, विश्वासको मत लिने दिन नै हामी बस्ने र छलफल गर्ने। त्यही दिन बस्छौँ, छलफल गर्छौँ र निधो गर्छौं।’
थापाले व्यक्तिगत रुपमा भने प्रधानमन्त्रीलाई विश्वासको मत दिन नहुने धारणा राखे। बैठकपछि बोल्दै उनले भने, ‘मैले जानेको र बुझेको कुरा के हो भने, नेपाली कांग्रेसले यो बेलामा संसद्भित्र भएका दोस्रो र तेस्रो पार्टी लगायतका पार्टीहरु मिलेर गठबन्धन बनाएर विश्वासको मत लिनका निम्ति आफ्ना उम्मेदवारका रुपमा प्रस्तुत गरिसकेपछि त्यहाँ विश्वासको मत दिने भन्ने कुरा त मलाई सामान्य छलफलको विषय पनि हुनुपर्छ भन्ने लाग्दैन।’
उनले आफूहरु प्रतिपक्षमा बस्ने र प्रतिपक्षको जिम्मेवारी निर्वाह गर्ने दाबी गरे। ‘त्यसको पनि विधि छ। औपचारिकता पूरा गर्नुपर्ने छ। त्यो छलफल पर्सिको बैठकमा गर्छौं। नेपाली कांग्रेस विश्वासको मतको खिलापमा उभिन्छ, विश्वासको मत दिँदैन। प्रतिपक्षमा बस्छ। प्रतिपक्षको जिम्मेवारी निर्वाह गर्छ भन्ने कुरा त स्पष्ट छ भन्ने लाग्छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।