काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नवनिर्वाचित सांसदहरुलाई संसदीय गतिविधिमा सक्रियता बढाउन निर्देशन दिएका छन्।
शनिबारदेखि काठमाडौंमा सुरु एकको पार्टीका सांसदहरुको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय गतिविधिहरुको कामलाई प्राथमिकता दिएर अघि बढ्न निर्देशन दिएका हुन्।
उनले सांसद भएकाले संसदीय गतिविधिको काममा ध्यान दिएर अघि बढ्न पार्टीका सांसदहरु केन्द्रित हुनुपर्ने बताए। उनले संसदीय दलको बैठक र संसद् बैठकमा समयमै पुग्न निर्देशन दिएका छन्।
उनले भने, ‘हामीले कुनै पनि कार्यक्रममा समयमा आउने र पूरा समय बस्ने तथा खासगरी हामी सांसदहरुलाई संसदीय अभ्यासमा संसद्को बैठकमा भाग लिन नभ्याउने, संसद्को काममा भाग लिन नभ्याउने, प्रशिक्षणको कार्यक्रममा भाग लिन नभ्याउने र अन्य बाहिर–बाहिरका कार्यक्रममा भ्याउने कुरा हुँदैन। कहिलेकाँहि नभ्याउने स्थिति पनि पर्न सक्छ। तर आम रुपमा भन्ने हो भने हामी जनप्रतिनिधि हौं। हामी सांसद हौं र हामीले सांसदको हैसियतले गर्नुपर्ने कामलाई प्राथिमकता दिनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।