काठमाडौं– पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्ने क्रम जारी रहेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बुधबारसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५३ खर्ब दुई अर्ब पुगेको छ।
मंगलबारसम्म ५२ खर्ब ९५ अर्ब रहेको निक्षेप संकलन एकै दिनमै ७ अर्ब रुपैयाँले बढेर ५३ खर्ब २ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थाले ५३ खर्ब २ अर्ब निक्षेप संकलन गर्दा वाणिज्य बैंकले मात्रै ४६ खर्ब ७५ अर्ब निक्षेप संकलन गरेका छन्।
यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाले ६ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। बैंक तथा वित्तीय संस्थाले बुधबारसम्म ४७ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। वाणिज्य बैंकले मात्रै प्रवाह गरेको कर्जा बुधबारसम्म ४२ खर्ब २१ अर्ब रहेको छ। मंगलबारसम्म ४२ खर्ब २० अर्ब रहेको थियो। अन्य बैंक तथा वित्तीय संस्थाले ५ खर्ब ४६ अर्ब कर्जा प्रवाह गरेका छन्।
बैंकिङ प्रणालीमा निक्षेप बढेसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.५६ प्रतिशत रहेको छ। यसैगरी, बुधबारसम्म अन्तर बैंक ब्याजदर ६.८३ प्रतिशत रहेको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन बढ्नेक्रम जारी रहदा बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या केही मात्रामा समाधान हुँदै गइरहेको जानकारहरुको बुझाइ छ।
राष्ट्र बैंकले पनि बैंकिङ क्षेत्रलगायत क्षेत्रमा देखिएको लगानी योग्य रकम अभावको समस्या हट्दै गएको जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।