कार्यदलका संयोजक विष्णु पौडेल (फाइल तस्बिर)
काठमाडौं– सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदाका लागि सत्ता साझेदार दलहरुले गठन गरेको कार्यदलको बैठक आज (शुक्रबार) बस्दै छ। यसअघि बिहीबार बस्ने तय भएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो।
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुग अस्वस्थ भएपछि बिहीबार बैठक स्थगित गर्नुपरेको कार्यदलका संयोजक समेत रहेका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका थिए।
‘आज (बिहीबार) नै मस्यौदा टुंग्याउने तयारीमा थियौँ। वर्षमान पुनज्यू अलिकति अस्वस्थ भएर बैठकमा आउन सक्नुभएन। त्यसैले आजको बैठकलाई हामीले भोलि (शुक्रबार) ११ बजेका निम्ति सारेका छौँ। भोलि हाम्रो सबै काम सकिन्छ,’ पौडेलले बिहीबार मन्त्रालयमा पत्रकारहरुसँग भनेका थिए।
उनका अनुसार, कार्यदलको बैठक बेलाबेलामा बसेर र सरकारमा सहभागी विभिन्न दलका सुझावहरुलाई संगठित गर्दै एउटा मस्यौदा तयार भइसको छ। बिहीबार बैठक बसेको भए मस्यौदामाथि दफावार छलफल गर्दै अन्तिम रुप दिने तयारी थियो।
सत्ता साझेदार दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउन कार्यदल बनाएका छन्। शुक्रबारको बैठकबाट न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिइने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।