काठमाडौं– प्रतिनिधि सभाको पहिलो बैठकका अजेन्डा तय गर्न आज (शुक्रबार) सर्वदलीय बैठक बस्न लागेको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन्।
संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ। २५ गते बस्ने बैठकका अजेन्डा तय गर्न शुक्रबार दलहरुसँग छलफल गर्न लागिएको हो।
दिउँसो १ बजे बस्ने बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र प्रतिनिधिहरुलाई बोलाइएको छ। बैठकमा स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ।
बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्ने बताइएको छ।
त्यस्तै, मंसिर ४ गतेको निर्वाचनपछि गठन भएको नयाँ संसदमा राष्ट्रपतिले सम्बोधन गर्ने अभ्यास छ। त्यसको व्यवस्था गर्नका लागि पनि सर्वदलीय बैठकमा छलफल हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।