काठमाडौं– सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि रोक्नका लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको छ।
सशस्त्र प्रहरीले बिहीबार मुख्यालय हलचोकमा जुत्ताचप्पल उत्पादक, बोट्लर्स नेपाल, नेपाल चिनी उद्योग संघ, नेपाल पोल्ट्री महासंघ, नेपाल दाना उद्योग संघ, नेपाल ह्याचरी उत्पादक संघ लगायतका प्रतिनिधिसँग छलफल गरेको हो।
सीमा इलाकाबाट त्यस प्रकारका सामान तथा वस्तुको चोरीतस्करी नियन्त्रण कसरी गर्न सकिन्छ, भन्ने विषयमा छलफल केन्द्रित रहेको सहायक प्रवक्तासमेत रहेका सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै सरोकारवाला निकायसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताउँदैै चोरीपैठारी नियन्त्रणमा संगठन प्रतिवद्ध भएको उल्लेख गरे।
छलफलका लागि मात्र छलफल नगरी समस्या पहिचानकासाथ समाधानको निश्कर्षमा पुग्ने संगठनको प्रयास रहेको उल्लेख गर्दैै महानिरीक्षक अर्यालले एक निकायको एकल प्रयासले मात्र नियन्त्रण प्रभावकारी नहुने भएकोले सबैको सहकार्य र सहयोगमा मात्र परिणाम प्राप्त हुने बताए।
यस प्रकारका अवैध कार्य रोक्न सीमा इलाकामा सबै पक्ष समेटेर कमिटी नै बनाई अघिबढ्ने उल्लेख गर्दै उनले सशस्त्र प्रहरी बलले आफ्नो कार्यक्षेत्रमा कुनै पनि किसिमका अवैध गतिविधि गर्न नदिने नीति लिएको र त्यसलाई कडाइका साथ पालना गराउन सीमा क्षेत्रका युनिटहरुलाई निर्देशनसमेत दिइएको उनले जानकारी दिए।
कार्यक्रममा उल्लेखित संघ संस्थाका प्रतिनिधिहरुले तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले उल्लेख्य कार्य गरिरहेको भए पनि देशका केही मुख्य नाकाबाट अवैध वस्तु भित्रनसक्ने भएकोले त्यस प्रकारका कार्यले राजश्वमा प्रत्यक्ष असर पर्ने र उद्योगधन्दा धरासायी हुने वा बन्द गर्ने अवस्था आउन सक्ने बताए।
चोरीतस्करी रोक्नका लागि सरोकारवाला अन्य निकायसँगको समन्वय र नाकाबाट नै नियन्त्रण गर्ने कार्य प्रभावकारी हुनेमा छलफलमा उपस्थित उद्योग व्यवसायीसँग सम्बन्धित प्रतिनिधिहरुले जोड दिएका थिए।
कुखुराको मासु र अण्डामा मुलुक आत्मनिर्भर रहे पनि अवैध रुपले ती वस्तु मुलुक भित्रेको खण्डमा उद्योग धरासयी हुनेमा पनि उनीहरुको चिन्ता थियो। व्यवसायीहरुले अत्याधुनिक स्रोतसाधनसहित सीमा इलाकामा सशस्त्र प्रहरी बलको जनशक्तिलाई बढाउँदै लैजानुपर्ने धारणा समेत व्यक्त गरे।
छलफल कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सीमा हट लाइन नम्बर ९८५१२६०७३० को व्यवस्था गरिएको जनाउँदै यस प्रकारका रिर्पोटिङ सिधै मुख्यालयलाई गर्नसक्ने व्यवस्था गरिएको हुँदा अवैध कार्य भएको थाहा भएमा तत्काल खबर गर्न व्यवसायीहरुलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।