काठमाडौं– गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। प्रदेश प्रमुख गुरुङले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दल तथा प्रदेश सभा सदस्यलाई ५ दिनभित्र मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।
मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेका छैनन्। जसकार प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउनसक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान भएको प्रदेश प्रमुखको कार्यालय प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिएका छन्।
प्रदेश प्रमुख गुरुङले मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि पुस २५ गते (सोमबार) अपराह्न ४ बजेसम्मको समयसीमा तोकेका छन्।

गण्डकी प्रदेशमा २७ सांसद संख्यासहित नेपाली कांग्रेस पहिलो दल छ। यस्तै, नेकपा एमालेका २३, माओवादी केन्द्रका ८ तथा एकीकृत समाजवादी (दीपक मनाङे) र राप्रपाका १–१ सांसद छन्।
प्रदेश सभामा कूल सदस्य संख्या ६० रहेकोमा सरकार गठनका लागि ३१ सांसदको संख्या आवश्यक पर्छ।
केन्द्रको समीकरणजस्तै गण्डकी प्रदेशमा पनि नेकपा एमाले–माओवादी केन्द्रसहित दलहरुको सरकार बन्ने सम्भावना छ। २३ सांसद संख्या रहेको एमाले र ८ सांसद संख्या रहेको माओवादी मिल्दा सरकार गठनका लागि चाहिने बहुमत (३१ सांसद संख्या) पुग्छ। सरकार गठन हुँदा राप्रपा र एकीकृत समाजवादी (दीपक मनाङे)को समर्थन पनि प्राप्त हुने सम्भावना छ।
गण्डकीको मुख्यमन्त्रीमा नेकपा एमालेको प्रमुख दाबेदारी छ। एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।