काठमाडौं– केही समययता राजसंस्थाको पुनःस्थापनाको माग गरिरहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन्। ‘१५ वर्षपछिको प्रेमपूर्ण भेट’ भनेका मिश्रले डेढ घण्टा लामो भेट गरेको उल्लेख गरेका छन्।
ज्ञानेन्द्रमा शालीनता, सौम्यता, समझदारी र देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको र बढ्दो भूराजनीतिक र आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष निकालेको मिश्रले जानकारी दिएका छन्।
भेटपछि मिश्रले फेसबुकमा लेखेको स्टाटसमा ज्ञानेन्द्रको गद्दीच्युतलाई उनले षडयन्त्र भनेका छन्। ‘संसद् पुनर्स्थापनामार्फत् आफ्नो गल्ती सच्याइसकेका राजालाई यसरी षडयन्त्र गरेर, विदेशीको प्रभावमा परेर, ढाँटेर/छलेर गद्दीच्युत गरिएको थियो। त्यसपछि दर्जनौ स्वदेशी र विदेशी राजा जन्मिए। पृथ्वीनारायण शाहलाई सरापेर मार्क्स र माओलाई माला लाउन थाले,’ मिश्रको टिप्पणी छ।
मिश्रले नेपालजस्तो कमजोर र कुनै पनि बेला ‘असफल राज्य’मा परिणत हुनसक्ने देशमा संकटको घडीमा अभिभावकीय भूमिका खेल्न सक्ने एउटा संस्था नराख्ने हो भने संकटमा फसिसकेपछि त्यो खोजेर पनि नपाइने आफ्नो निष्कर्ष उल्लेख गरेका छन्।
उनले आफू पत्रकार हुँदा र राजा ‘राजा’ नै हुँदा सन् २००७ मा उनलाई दुईपटक भेटेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।