काठमाडौं– लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सरकार गठनका लागि आह्वान गरेका छन्। लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दल तथा तथा प्रदेश सभा सांसदलाई ७ दिनको समय दिएर प्रदेश प्रमुख शेरचनले बिहीबार सरकार गठनका लागि आह्वान गरेका हुन्।
मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत हासिल गरेका छैनन्। जसकारण संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान भएको लुम्बिनी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्चिवी पौडेलले जानकारी दिएका छन्। मुख्यमन्त्रीमा दाबी गर्नका लागि पुस २७ गते (बुधबार) अपराह्न ४:०० बजे सम्मको समयसीमा तोकिएको छ।

लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल छ। एमालेका २९ सांसद छन्। यस्तै, नेपाली कांग्रेसका २७ र नेकपा माओवादी केन्द्रका ९ सांसद छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४–४ सांसद् छन् भने जनता समाजवादी पार्टी र जनमत पार्टीका ३–३ सांसद छन्। प्रदेश सभामा ३ जना स्वतन्त्र सांसद् रहँदा नेकपा एकीकृत समाजवादीका १ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन्।
प्रदेश सभामा कूल सांसदको संख्या ८७ रहेकोमा सरकार गठनका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ। केन्द्रमा जस्तै लुम्बिनी प्रदेशमा पनि एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति, जसपा र जनमत पार्टीको समीकरण बन्ने सम्भावना छ।
२९ सांसद संख्या रहेको एमाले, ९ सांसद संख्या रहेको माओवादी केन्द्र, ४ सांसद संख्या रहेको राप्रपा, ४ सांसद संख्या रहेको नागरिक उन्मुक्ति पार्टी, ३ सांसद संख्या रहेको जसपा र ३ सांसद संख्या रहेको जनमत पार्टीको समीकरण बन्दा सांसद सिट संख्या ५२ पुग्छ। जुन सरकार गठनका लागि पर्याप्त हो।
लुम्बिनीको मुख्यमन्त्रीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दाबी गर्दै आएका छन्। एमालेबाट संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्रीको दाबेदार छन् भने माओवादी केन्द्रबाट संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्रीका दाबेदार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।