काठमाडौं– काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिग प्रतियोगितामा जनकपुर रोयल्स विजयी भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जनकपुरले पोखरा एभेञ्जर्सलाई ६ विकेटले पराजित गर्दै विजयी भएको हो। जितसँगै जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफमा पुग्यो। ९ खेलमध्ये ६ मा जित तथा ३ खेलमा हार बेहोरेको जनकपुर १२ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको हो।
प्रतियोगितमा लुम्बिनी अल स्टार पनि यसअघि नै प्लेअफमा पुगिसकेको छ। समान ९ खेल नै खेलको लुम्बिनीले ८ खेलमा जित र एक खेलमा हार बेहोरे पनि १६ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ।
बिहीबारको खेलमा पोखराले जनकपुरलाई जितका लागि ६९ रनको चुनौती दिएको थियो। जवाफमा जनकपुरले ९ ओभरमा चार विकेट गुमाउँदै ७० रन बनायो। जनकपुरको जितमा सराफुदिन असरर्फले सर्वाधिक ३७ रनको योगदान दिए भने ट्रभोन ग्रिफीथले १७ रन जोडे। त्यस्तै पवन सरार्फले ४ रन जोडे भने राजेश पुलामी र असन प्रियरञ्जनले समान १/१ रन जोडे।
बलिङतर्फ पोखराका कुशल मल्लले तीन विकेट लिए भने असिथा फर्नान्डोले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको पोखरा १२ ओभरमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो। पोखराका लागि सिद्धान्त लोहनीले सर्वाधिक १७ रन बनाए भने आशिफ शेख र कुशल मल्लले समान १६/१६ रन जोडे। त्यसबाहेकका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
पोखरालाई कम योगफलमा समेट्ने क्रममा जनकपुरका सोमपाल कामी एक्लैले 3 विकेट लिए भने ललित राजबंशी र शराफुदिन असरर्फले समान २/२ विकेट लिए। त्यस्तै, पवन शर्राफ ट्रभोन ग्रिफिथ र जितेन्द्र मुखियाले समान १/१ विकेट झारे। यससँगै ९ खेल खेलेको पोखराले ३ मा जित तथा ६ खेलमा हार बेहोर्यो। ६ अङ्क बटुलेको पोखरा अङ्क तालिकाको पाँचौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।