काठमाडौं– पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा लुम्बिनी अल स्टारले काठमाडौंं नाइट्सलाई भारी अन्तरले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा लुम्बिनीले काठमाडौंलाई १०२ रनको फराकिलो अन्तरले पराजित गरेको हो। १७ ओभरमा छोट्याइएको खेलमा लुम्बिनीले दिएको १८४ रनको लक्ष्य पछ्याएको काठमाडौँ १५ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर मात्र ८१ रनमा समेटियो।
काठमाडौंका लागि बसिर अहमदले २२ तथा कमलसिंह ऐरीले १६ रन बनाए। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५-१५ रनको योगदान दिए। बलिङतर्फ लुम्बिनीका लागि ह्यारी टेक्टर, कुशल भुर्तेल र इशान पाण्डेले समान दुई-दुई विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर १८३ रन बनायो। लुम्बिनीका लागि हरमित सिंहले ७० रनको योगदान दिए। यस्तै लाहिरू मिलान्थाले २६, गुलसन झाले २१, ह्यारी टेक्टरले १७, अनिल शाहले १६ तथा कुशल भुर्तेल १५ रन बनाए। बलिङतर्फ काठमाडौंका लागि अभिनाश बोहराले तीन तथा बसिर अहमदले दुई विकेट लिए।
जितसँगै लुम्बिनीले हालसम्म खेलेको नौ खेलमध्ये आठमा जित र एकमा हारका साथ १६ अङ्कसहित शीर्ष स्थानमा छ। हारसँगै काठमाडौंले आठ खेलमध्ये चारमा जित र चारमा हारका साथ आठ अङ्क जोडेको छ। काठमाडौं अङ्क तालिकाको तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।