काठमाडौं– नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे हतार नभएको बताएका छन्।
सरकारको नीति र कार्यक्रम नै स्पष्ट भइनसकेको अवस्था समर्थन गर्नलाई हतार गर्न नहुने नेपालको भनाइ छ।
‘यो सरकारले कस्तो नीति र कार्यक्रम लिन्छ भन्ने कुरा हेर्न पाएकै छैनौँ। मान्छेको अनुहार हेरेर गर्ने हो भने प्रचण्डजीको अनुहार हेरेर ल समर्थन गरिदियौं भन्दिउँला।अनुहार मात्र हेरेर समर्थन गरिदिनुपर्छ भन्ने सुन्न मन लागेको भए गरिदिउँला,’ पार्टीबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुलाई बुधबार आयोजित सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘अनुहारले मात्र कहिलेकाहिँ हुँदैन, त्यहाँ अनेक नाममा के–के गर्छन थाहा छैन।’
सरकारलाई समर्थन गर्ने नगर्ने विषयमा पुस २६ गतेसम्म निर्णय हुने नेपालको भनाइ छ।
‘हामी पनि नेपालको राजनीतिमा छौं। हामीलाई केही पनि जानकारी छैन। अनि त्यत्तिकै अघाडि सरेर बोल्ने हामीलाई केको हतार? हामीलाई के बित्दो छ र?’ नेपालले प्रश्न गरे, ‘पुस२६ गते विश्वासको मत प्राप्त गर्ने कुरा छ। २६ गतेका दिनसम्म निर्णय गरे भैगो नि।’
पार्टी निर्माण गर्दै, गाउँ गाउँमा टोल टोलमा पुर्याउन सकेको अवस्थामा मात्रै आफूहरु शक्तिशाली हुने नेपालको भनाइ छ। उनले पार्टी पोलिटब्यूरो बैठकदेखि अन्य शुभेच्छुकहरुबाट पनि पार्टीलाई बलियो बनाउनु पर्ने सुझाव आएको बताए।
आफ्नो उद्देश्य राजनीति स्थायित्व, गणतन्त्र र संघीयता बलियो बनाउन र राज्य जिम्मेवार बन्नु पर्ने, भ्रष्टाचारको अन्त्य गर्नमा केन्द्रित रहेको नेपालको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।