काठमाडौं- नेकपा एकीकृत समाजवादीमा सरकारमा जाने विषयलाई लिएर अझै अन्याेल देखिएको छ। सोमबार र मंगलबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय सचिवालयलाई त्यसबारे निर्णय लिने अधिकार प्रत्यायोजन गरेको छ।
बैठकको निर्णय सुनाउँदै उपमहासचिव जगन्नाथ खतिवडाले सरकारका सन्दर्भमा अझै धेरै कुरा बुझ्नुपर्ने आवश्यकता रहेको बताए। सरकारले देश र जनताको हितमा के कस्ता कार्यक्रम ल्याउँछ, त्यसलाई पनि हेर्नुपर्ने बताए।
'गठबन्धनको सरकारको बारेमा हामीले व्यापक छलफल गरेका छौँ। र अन्त्यमा निर्णय गरिएको छ- यसबारेमा थप आवश्यक अध्ययन गर्नुपर्ने, छलफल गर्नुपर्ने, विचार विमर्श गर्नुपर्ने र यसले देश र जनताको हितमा के कस्ता कार्यक्रम ल्याउन सक्छ र हाम्रो दलसँग उसको राजनीतिक सम्बन्ध के कस्तो रहनेछ भनेर अझै धेरै कुरा बुझ्नुपर्ने भएको हुनाले यसको अन्तिम निर्णय गर्नका लागि पनि केन्द्रीय सचिवालयलाई पोलिटब्युरोले अधिकार प्रदान गरेको छ', उनले भने।
उपमहासचिव खतिवडाले सरकारमा सहभागिताबारे औपचारिक प्रस्ताव नआएको बताए। प्रस्ताव आएपछि त्यसलाई हेरेर मात्रै निर्णयमा पुगिने बताए। यद्यपि, सरकारप्रति नकारात्मक रुपमा हेर्नुपर्ने कुनै कारण नभएको उनले बताए।
एकीकृत समाजवादीको शनिबार र आइतबार स्थायी कमिटीको बैठक बसेको थियो। सरकारमा सहभागिताबारे पोलिटब्युरोले निर्णय लिने भन्दै सोमबार र मंगलबार बैठक बसेको हो। तर, पोलिटब्युरोले पनि सचिवालयलाई अधिकार सुम्पिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।