काठमाडौं– नेकपा (माओवादी केन्द्र)की नेतृ एवं प्रतिनिधि सभाकी पूर्वसभामुख ओनसरी घर्तीले संघीय कानुन निर्माण हुन नसक्दा प्रदेश र स्थानीय सरकारलाई समस्या परिरहेको भन्दै कानुन निर्माणमा पहिलो प्राथमिकता दिनुपर्ने बताएकी छन्।
मंगलबार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएकी हुन्।
नेतृ घर्तीले संघीय शासन प्रणालीको दोस्रो कार्यकाल सुरु भइसक्दा समेत संघमा आवश्यक कानुन निर्माण हुन नसकेकाले आम सर्वसाधारणहरूले समेत समस्या व्यहोरिरहेको बताइन्। उनले संघीय कानुन बनिसकेपछि मात्रै प्रदेश सभाको प्रभावकारिता बढ्ने उल्लेख गरिन्।
पूर्वसभामुख घर्तीले जनताले आफ्ना जनप्रतिनिधिहरूले संसदमा गरिरहेका कार्यहरू हेर्न पाउनुपर्ने बताइन्। उनले जनता र जनप्रतिनिधिबीचको सम्बन्ध ५ वर्षमा भोट माग्न जाने कुरामा मात्रै सीमित हुनु नहुने बताइन्।
जनप्रतिनिधिहरूले पद पाएपछि जनतासँग गरेका वाचाहरू भुल्न सक्ने भन्दै जनताले आफ्ना जनप्रतिनिधिहरूलाई झक्झकाइरहनुपर्ने उनको भनाइ छ।
पूर्वसभामुख घर्तीले नेपालमा सुशासनको समस्या बढिरहेको बताइन्। उनले जनताले गर्नै नसकिने काम गर्न नलगाएको भन्दै जनताले चाहेका काम सांसदले पूरा गर्नुपर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।