काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन्।
मंगलबार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन्।
उनले देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक र सामाजिक लगायतका समस्याहरुले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए। उनले वर्तमान व्यवस्था र संविधानको रक्षाका लागि सबै मिलेर राष्ट्रिय सहमति खोज्नुपर्नेमा जोड दिए।
लामो संघर्षबाट आएको राजनीतिक परिवर्तनलाई जोगाउँदै सबै एक भएर राष्ट्रिय सहमति गरेर अघि जानुपर्ने उनको भनाइ छ।
वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतको विगतको गठबन्धन हाइज्याक भएको टिप्पणी गरे। उनले आफूहरुले गरेको हिसाबकिताबले काम नगरेको पनि बताए।
उनले विगतमा आफूहरुका बीचमा भएको गठबन्धन टुट्नु देशको लागि दुर्भाग्य भएको उल्लेख गरे। देशमा अस्थिरताको श्रृङ्खला अगाडि बढेको पौडेलको भनाइ छ।
वरिष्ठ नेता पौडेलले सांसदहरुलाई ऐन, कानुन बनाउनका लागि जनताको प्रतिनिधिको रुपमा पठाइने भएपनि सांसदहरु विकास निर्माणको काममा मात्रै केन्द्रित हुने गरेका बताए।
जनताले पनि सांसदहरुलाई विकासे कार्यकताको रुपमा बुझ्दा समस्या भएको टिप्पणी गरे। जनताले सांसदले कति विकास ल्यायो ल्याएन भन्ने मात्र हेर्ने गरेपछि सांसदहरु पनि विकास निर्माणको काममा मात्रै केन्द्रित हुनुपर्ने बाध्यता उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।