काठमाडौं– नेपाल टी–२० लिगमा फिक्सिङ र बेटिङ हुने गरेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको छ।
फिक्सिङ र बेटिङ हुने गरेको भन्दै उजुरी परेपछि सीआईबीले अनुसन्धान सुरु गरेको हो। सीआईबीका एक अधिकारीले अनुसन्धान सुरु गरिएको पुष्टि गरे।
उनका अनुसार एक डीएसपीको कमाण्डमा अनुसन्धान अघि बढाइएको छ। तर, अहिलेसम्म बेटिङ र फिक्सिङको कुनै प्रमाण भने फेला नपरेको प्रहरीले जनाएको छ।
रसियन एप वान एक्स बेटमार्फत् बेटिङ हुने र फिक्सिङ समेत हुने गरेको भन्दै लिग विवादित बनेको छ। नेपाल क्रिकेट संघ क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्लाई लिग आयोजनाको जिम्मा दिएको छ।
नेपालमा अवैधानिक रहेको वान एक्स बेटलाई थ्री स्पोर्ट्स प्रायोजक समेत बनाएको छ। खुल्लमखुल्ला बेटिङ कम्पनीले प्रायोजन गर्दै बेटिङ समेत खेलाएको हुनसक्ने आशंका गरिएको छ।
लिग विवादित भएसँगै म्याचका कमेन्टेटर सचिन तिमल्सेनाले लिग नै छाडेका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै उनले लिग छाडेको जानकारी गराएका छन्।
भिडियोमा उनले लिगमा फिक्सिङ भएको समेत दाबी गरेका छन्। उनले भनेका छन् ‘आजकाल म्याच फिक्सिङ हुँदैन स्पट फिक्सिङ हुन्छ।’
यसले नतिजामा असर नगरे पनि खेलको दौरानमा भने त्यस्तो केही काम भने हुने उनले बताएका छन्। जुन पहिल्यै भने अनुसार गरिएको हुने उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।