अर्घाखाँची– अर्घाखाँचीमा ६० वर्षीया महिलाको हत्या गरेको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार आइतबार शितगंगा नगरपालिका-१० बस्ने ६० वर्षीया राधा थापा स्थानीय सिद्धारा बोखोरस्थित जंगलमा मृत फेला परेकी थिइन्। टाउकोमा गहिरो चोट लागेको अवस्थामा थापाको शव भेटिएपछि हत्याको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।
अनुसन्धानको क्रममा प्रहरीले बिहान शितगंगा नगरपालिका-१० बोरखोर बस्दै आएका भारतको हरियाणा घर भएका २३ वर्षीय सुशान्त सिंहलाई आइतबार पक्राउ गरेको हो।
घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले घटनामा संलग्न सिंहलाई शितगंगा नगरपालिका-११ मुन्द्रीबासस्थित जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
प्रहरीका अनुसार आइतबार राधा दूध लिन भन्दै घर बाहिर निस्किएकी थिइन्। दूध लिन गएकी राधाले लगाएको सुनका गरगहना लुट्ने योजना बनाइ सिंहले ढुंगा र हँसिया प्रहार गरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ।
पक्राउ परेका सिंहविरुद्ध जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।