काठमाडौं- प्रतिनिधि सभा निर्वाचनबाट रौतहट- २ बाट विजयी भएका स्वतन्त्र सांसद किरणकुमार साह एमालेमा प्रवेश गरेका छन्। साहलाई सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका हुन्।
यद्यपि सांसद साहले अनौपचारिक कुराकानी निष्कर्षमा पुगेकाले आज (मंगलबार) एमाले प्रवेशबारे औपचारिक वक्तव्य सार्वजनिक गर्ने साहले बताए।
साहले प्रतिनिधि सभा सदस्यको रुपमा सपथ खाँदा संस्कृत भाषा रोजेका थिए। नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने उनको अजेण्डा छ। ‘धर्मान्तरण र धार्मिक अतिवादको विषयमा मेरा जे जस्ता माग र मुद्दाहरु थिए। त्यसलाई पूरा गर्न एमालेले प्रतिबद्धता जनाएकाले सोही पार्टी प्रवेश गर्ने निर्णय गरेको हुँ’, नेपाल लाइभलाई प्रतिक्रिया दिँदै उनले भने।
उनले एक्लो सांसदको रुपमा प्रतिनिधि सभामा प्रभावकारी भूमिका खेल्न कठिन हुने भएकाले पार्टी प्रवेश गर्नुपरेको उनको भनाइ छ। त्यसमा पनि आफूले उठाउने मुद्दालाई बोक्ने पार्टी भएकाले एमाले रोजेको उनले बताए।
केही दिनअघि रौतहट- ३ बाट जितेका स्वतन्त्र सांसद प्रभु साहले गठन गरेको आम जनता पार्टीमा उनलाई पनि राखेका थिए। तर आफू त्यसमा नरहने भनेर खण्डन गरिसकेको उनको भनाइ छ।
योसँगै प्रतिनिधि सभामा एमालेका ७९ सांसद पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।