काठमाडौं– आफ्नो पार्टीबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिसँग जनमत पार्टीले कार्यप्रगति विवरण मागेको छ। पार्टीले सोमबार पत्र पठाएर विवरण मागेको हो।
‘जनमत पार्टीबाट तपाईं निर्वाचित भएको ६ महिनाको कार्यकाल पूरा गर्दा आफूले गरेको कार्यसम्पादनको प्रतिवेदन ७ दिनभित्र केन्द्रीय सचिवालयलाई उपलब्ध गराउन हुन अनुरोध छ,’ सोमबार आफ्ना जनप्रतिनिधिहरुलाई पठाइएको पत्रमा जनमत पार्टीका अध्यक्ष सीके राउतले भनेका छन्।
प्रतिवेदनमा जनमत पार्टीको अवधारणा लागू गर्न के-कस्ता कार्यक्रमहरु सञ्चालनमा ल्याइयो, जनसरोकारका विषयहरुलाई सम्बोधन गर्न के-कस्तो पहल गरियो, जनमत पार्टीको स्थानीय समिति र कार्यकर्ताहरुसँग समन्वय कस्तो रह्यो आदि विवरण समावेश गर्न भनिएको छ।
जनमत पार्टीका वडा र पालिकाका समितिहरुलाई पनि पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यमूल्याङ्कन प्रतिवेदन पठाउन भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।