काठमाडौं– प्रहरीले सात दिनको अवधिमा ६५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।
अदालतबाट विभिन्न मितिमा फैसला भई कैद र जरिवाना सुनाइएका ६५ जना व्यक्तिहरूलाई पुस १२ देखि १७ गतेको अवधिमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेस गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उनीहरूबाट अदालतले १० वर्ष ७ महिना ४५ दिन कैद र जरिवाना वापत २७ लाख २१ हजार २९३ रूपैयाँ असुल उपर गरिएको प्रहरीले जनाएको छ।
यस्तै, २०४४ बैशाख ८ गतेदेखि सवारी ज्यान मुद्दामा अदालतद्वारा ३ हजार ५० रूपैयाँ जरिवाना तोकिएको र सोही मितिबाट फरार रहेका काठमाडौंको साविक तीनथाना गाविस–४, हाल चन्द्रागिरी नगरपालिका–१५ का ६० वर्षीय दीपक श्रेष्ठलाई सोमबार पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी दिनेश मैनालीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।