काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सामेल हुन आग्रह गरिरहँदा नेपालको यस्तो अडान बाहिर आएको हो। सोमबारदेखि काठमाडौंमा सुरु भएको नेकपा एसको पोलिटब्यूरो बैठकमा बोल्दै उनले राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताए।
अध्यक्ष नेपालले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठीक गरिरहेको उल्लेख गर्दै कसैसामू लत्रने पक्षमा नरहेको समेत बताए।
मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे वस्तुनिष्ठ समीक्षा गरेर आफूहरु अघि बढ्ने तर आरोप–प्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ छ। अध्यक्ष नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरुको प्रयास असफल भएपछि नयाँ पार्टी खोलेर अघि बढ्नु परेको तथ्य बुझ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे।
‘देशको राजनीतिक आफ्नै जटिलताहरु छन्। हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन। कुनै पनि शक्तिको पछि लाग्दैन। हामी आफ्नो देश अघि बढाउन चाहन्छौं। हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौं’, उनले भने, ‘नेपाली जनताको भावनालाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौं। त्यसो हुनाले यिनै सोच र मान्यताको आधारमा हामी अगाडि बढनेछौं।’
अध्यक्ष नेपालले आफूहरुबाट केही गल्ती भए सच्चिन तयार रहेको उल्लेख गर्दै कसैलाई पनि पानीमाथिको ओभानो बन्ने प्रयास नगर्न चेतावनी दिए। बैठकमा नेताहरुले सरकारमा पार्टी सहभागी हुने वा नहुने भन्ने विषयमा पनि आ–आफ्नो धारणा राख्ने अजेण्डा समेत तय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
त्यसैगरी, बैठकमा निर्वाचनको समीक्षा, पार्टीको भावी नीति र कार्यक्रमबारे पनि छलफल हुने नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।