काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको रुपमा यो कार्यकालमा जनताको निम्ति समर्पित भएर काम गर्ने अठोट लिएको बताएका छन्।
आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका क्रममा बोल्दै उनले भने, 'यो पटक हामीले सामाजिक न्याय, सुशासन र समृद्धिको मूल मन्त्र बनाएर जनताको निम्ति समर्पित भएर काम गर्ने अठोट गरेका छौँ।'
प्रधानमन्त्री प्रचण्डले शनिबार मात्रै चितवनमा यो कार्यकालमा भाषण कम र काम धेरै गर्ने प्रतिज्ञा गरेको बताएका थिए। भोलिपल्टै पोखरामा आयोजित कार्यक्रममा उनले करिब १३ मिनेट सम्बोधन गरेका थिए।
सम्बोधनमा उनले निर्वाचन अभियानको दौरानमा देशैभर घुम्दा सामाजिक न्याय, सुशासन र विकास नै अब देशको अजेन्डा बन्ने प्रतिक्रिया पाएको बताए।
'मैले शान्ति सम्झौताको हस्ताक्षरकर्ताको नाताले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा र समानुपातिक समावेशी संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेको नेताको हैसियतले पनि अब बाँकी जीवन आर्थिक विकास र समृद्धिमा, सामाजिक न्याय र सुशासनमा भनेर मैले जनताको अगाडि कबुल गरेको छु', उनले भने, 'यहाँको भव्य र विशाल उपस्थिति देख्दै गर्दा यहाँबाट नयाँ ऊर्जा प्राप्त गरेको महसुस गरेको छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।