गंगालाल तुलाधर (फाइल तस्बिर)
काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाइने भनेर चलेको चर्चालाई सोही पार्टीका उपमहासचिव गंगालाल तुलाधरले अस्वीकार गरेका छन्।
पार्टीको जारी १४औँ स्थायी कमिटीमा भइरहेको छलफलबारे जानकारी दिने क्रममा उनले पत्रकाहरुलाई सो विषयले बैठकमा प्रवेश नै नपाएको बताए।
‘माधव नेपालाई राष्ट्रपति बनाउने कुराले हाम्रो बैठकमा प्रवेश नै पाएको छैन अहिलेसम्म,’ उनले भने, ‘त्यसकारण कहाँबाट कसरी आयो? हावामै आयो, हावामै गयो जस्तो लाग्छ।’
सजिलैसँग नेकपा एमालेले एकीकृत समाजवादीका अध्यक्षलाई यति ठूलो प्रस्ताव, यति छिट्टै र सजिलोसँग राख्लान् जस्तो आफूलाई नलाग्ने उनको भनाइ छ। ‘त्यो गरेको हो जस्तो पनि मलाई लागेको छैन,’ उनले भने, ‘कहीँ कतै त्यस्तो चर्चा भएको हो भने हाम्रो पंक्तिलाई अलिकति भ्रमित पार्न गरिएको जस्तो लागेको छ।’
पछिल्ला दिनमा एमाले र एकीकृत समाजवादीबीच एकता हुने र माधवकुमार नेपालाई राष्ट्रपति बनाइने चर्चाका सन्दर्भमा उपमहासचिव तुलाधरले प्रतिक्रिया दिएका हुन्। यद्यपि, यस किसिमको चर्चालाई एमालेका नेताहरुले पनि अस्वीकार गरेका छन्।
शनिबारदेखि जारी बैठकमा अहिलेसम्म ३० जनाले धारणा राखिसकेको तुलाधरको भनाइ छ। बोल्नका लागि पाँच वटा विषय दिइएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।