काठमाडौं– प्रदेश १ मा प्रदेश सभाको पहिलो अधिवेशन आह्वान गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभा अधिवेशन आह्वान गरेका हुन्।
आइतबार बस्ने प्रदेश सभाको बैठकको अध्यक्षता प्रदेश सभाका ज्येष्ठ सदस्य, नेपाली कांग्रेसका गयानन्द मण्डलले गर्ने भएका छन्। उनले जेष्ठ सदस्यका रुपमा प्रदेश सभाका नवनिर्वाचित सदस्यहरुलाई शपथ समेत गराएका थिए।
सातवटा प्रदेशमध्ये ६ वटा प्रदेशले अघिल्लो कार्यकालमै प्रदेशको नामाकरण र राजधानीको विषय टुंगो लगाए पनि प्रदेश १ ले भने नामाकरण गर्न सकेको छैन।
यस अधिवेशनमा प्रदेश सभा सरकार गठन, सभामुख तथा उपसभामुखको निर्वाचन र प्रदेशका केही कानुन निर्माणमा केन्द्रित हुने अपेक्षा गरिएको छ।
प्रदेश १ मा केन्द्रको समीकरणअनुसार नै सरकार बन्ने निश्चित देखिन्छ। मुख्यमन्त्रीका लागि नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्की र माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्र बहादुर आङ्बो दाबेदार रहेका छन्।
यस प्रदेशका सबभन्दा ठूलो दल एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका १ जना प्रदेश सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।