धनगढी– नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलको नेता छनोट गर्न संसदीय दलको बैठक आज पनि बस्दैछ। शनिबार बसेको बैठकले नेता छनोट गर्न नसकेपछि आज पुनः बैठक बस्ने प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य खगराज भट्टले जानकारी दिए।
सहमतिमा दलको नेता छान्न बसेको बैठक शनिबार समय अभाव तथा चिसोका कारण रोकिएको थियो। ‘हिजो समय अभावका कारण निर्णय लिन सकिएन आज पुनः बैठक बस्दैछौं सहमतिमै दलको नेता छान्छौं’, उनले भने।
धनगढीस्थित संसदीय दलको कार्यालयमा बसेको बैठक सहमति नजिक पुगेको भट्टले बताए। प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य खगराज भट्ट र वैकल्पिक केन्द्रीय सदस्य ओमविक्रम भाट दुवैले जनाले दलको नेतामा दाबी गरेका छन्।
शनिबार बिहान प्रदेश कमिटी तथा केन्द्रीय सदस्यहरूको बैठकले सर्वसम्मत रूपमा दलको नेता छनोट गर्ने भनेको थियो। आज बिहान १० बजे फेरि बैठक बस्ने प्रदेश इन्चार्ज भट्टले बताए।
सुदूरपश्चिम प्रदेश सभामा अहिलेसम्म नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एमालेले दलको नेता चयन गरिसकेका छन्। नेकपा एमाले दलको नेता राजेन्द्र रावल, नेकपा एसको दलको नेतामा दीर्घ सोडारी र नागरिक उन्मुक्तिको नेतामा रामेश्वर चौधरी छनोट भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।