काठमाडौं– जनमत पार्टीले मधेस प्रदेश सभाको संसदीय दलको नेतामा महेशप्रसाद यादवलाई चयन गरेको छ।
पार्टीको जनकपुरधाममा शनिबार बसेको संसदीय दलको बैठकले दलको नेता छान्ने जिम्मा अध्यक्ष डा राउतलाई दिने निर्णय गरेको थियो। संसदीय दलको बैठकले दिएको अधिकारलाई प्रयोग गर्दै अध्यक्ष डा राउतले प्रदेश सभाको संसदीय दलको नेतामा सप्तरी क्षेत्र नं २ प्रदेशसभा २ बाट निर्वाचित यादवलाई चयन गरेको पार्टीका सचिवालय सदस्य राजेश मण्डलले जानकारी दिए। यस्तै प्रदेश सभाको सचेतकमा चन्दन सिंहलाई चयन गरेको मण्डलले बताए।
मधेस प्रदेश सभामा १३ सिटसहित ठूलो दल बनेको जनमत पार्टीमा संसदीय दलको नेता बन्न सञ्जय यादव, चन्दन सिंह, वसन्त कुशवाहा, सतिश सिंह, महेशकुमार यादवलगायतका नेताहरू आकांक्षी थिए।
नेपाली कांग्रेसले निर्वाचन प्रक्रियाबाट संसदीय दलको नेतामा पार्टीका प्रदेश सभापति कृष्णकुमार यादवलाई चयन गरिसकेको छ।
प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले)सहित जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोसपालगायतका दलहरूले अझै संसदीय दलको नेता चयन गरेका छैनन्। प्रदेशसभामा विभिन्न १० राजनीतिक दलको प्रतिनिधित्व भएको छ।
प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी कुल एक सय सात सिट रहेको प्रदेशसभामा एमालेका २३, कांग्रेस २२, जनता समाजवादी पार्टी (जसपा) १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नौ, माओवादी केन्द्र आठ र नेकपा (एकीकृत समाजवादी)का सात सिट छन्।
साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एक–एक सिट छ । प्रत्यक्षमा छ जना स्वतन्त्र उम्मेदवार पनि जितेका छन् ।
यसैबीच प्रदेश सरकारको सिफारिसअनुसार प्रदेश प्रमुख हरिशङ्कर मिश्रले यही पुस १८ दिउँसो १ बजेका लागि प्रदेश सभाको पहिलो अधिवेशन आह्वान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।