काठमाडौं– नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेशको संसदीय दलको निर्वाचन विवादमा परेको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित एक होटलमा भएको वैठकमा एक्कासी संसदीय दलको नेतामा शालिकराम जमरकट्टेलको नाम घोषणा गरेपछि विवाद भएको हो।
बागमती प्रदेशको संसदीय दलको नेतामा सरल सहयात्री पौडेलले पनि प्रतिस्पर्धा गर्न चाहेका थिए। उनले शुरुदेखि नै मित्रवत् प्रतिस्पर्धा गर्न पाउनुपर्ने अडान राख्दै आएका थिए। शुक्रबारदेखि शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वसहमति गरी नाम टुंग्याउन निर्देशन दिएको भन्दै केन्द्रबाट खटिएका प्रतिनिधिहरूले कट्टेलको नाम अरु प्रदेश सभा सदस्यहरूसँग सल्लाह नै नगरी घोषणा गरेको आरोप लगाएका छन्।
संसदीय दलको नेतामा जमरकट्टेलको नाम प्रस्तुत भएपछि अर्का आंकाक्षी सरल सहयात्री बैठक कक्ष छोडेर बाहिरिएका थिए भने अन्य केही प्रदेश सभा सदस्यहरुले आफूहरुको काम नै नभएको भन्दै टिप्पणी गर्दै बाहिरिएका थिए।
संसदीय दलको नेता बनाउन चुनाव नगर्न र सर्वसहमतिबाट टुङ्गो लगाउन पार्टी प्रचण्डले निर्देशन दिएका थिए।
प्रचण्डको निर्देशनपछि सहमति जुटाउनका लागि माओवादी नेताहरू हितमान शाक्य र नारायण दाहाल लगायत केही समय खटिएका थिए। तर, दुवैले अडान कायम राखेपछि निर्वाचन हुने अवस्था देखिएको थियो। तर एक्कासी मञ्चबाट संसदीय दलको नेतामा जमरकट्टेलको नाम उच्चारण गरेपछि सबै अलमलमा परेका थिए।

सहमति भन्दै जमरकट्टेललाई दलको नेता बनाएको भन्दै सहयात्रीले त्यसको आलोचना सामाजिक सञ्जालमार्फत गरेका छन्। सिन्धुपाल्चोक १ बाट प्रदेश सभा जितेका सहयात्री बागमती प्रदेश अध्यक्षसमेत हुन्। उनले निर्वाचनमा प्रतिस्पर्धा गरेर अध्यक्ष जितेका थिए।
सिन्धुपाल्चोकमा प्रतिनिधि सभातर्फ टिकट दाबी गरिरहेका उनी पार्टी अध्यक्ष र निर्वतमान सभामुख अग्नि सापकोटाको आग्रहपछि प्रदेश सभामा गएका थिए।
‘गेम जितिने स्वस्थ प्रतिस्पर्धाले हो। छिर्के लगाएर पनि गेम त जितिन्छ, तर मन जितिँदैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जबसम्म मन जितिँदैन केही पनि जितिँदैन। म हरेकपटक छिर्के लगाएर लडाइए पनि धुलो टक्टक्याउँदै कुदिरहेको धावक हुँ।’
सत्ता गठबन्धनभित्र माओवादीले बागमती प्रदेशको मुख्यमन्त्री दाबी गरिरहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।