काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधवकुमार नेपालसँग राष्ट्रपति बन्नुस् भन्ने प्रस्ताव कुनै पार्टीले नगरेको स्पष्ट पारेका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले पार्टी अध्यक्षसँग नेकपा एमालेले आधिकारिक रुपमा पार्टी एकता र राष्ट्रपति बन्ने प्रस्ताव नगरेको बताए। उनले पार्टी विलय वा एकीकरण गर्ने कुनै काम नगरेको र रुची पनि नरहेको स्पष्ट पारे।
उपमहासचिव खतिवडाले पार्टीको सबैभन्दा धेरै रुची वाम एकतामा रहेको र अहिले पार्टी सुदृढीकरणमा जोड दिएको बताए। उनले पार्टी एकता हुने भन्ने हल्ला निराधार रहेको पनि बताए।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो पटक प्रधानमन्त्री बन्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई नदिएपछि गठबन्धनले अर्कै मोड लिएको उल्लेख गरे।
उपमहासचिव खतिवडाले सरकारमा सहभागी बन्ने वा नबन्ने भन्नेबारेमा पार्टीको पोलिटब्युरोको बैठकसम्म छलफल पुग्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।