काठमाडौं– पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले काठमाडौं नाइट्समाथि जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको खेलमा लुम्बिनीले काठमाडौंलाई ३५ रनले पराजित गर्दै जित हासिल गरेको हो। लुम्बिनीले दिएको एक सय ५१ रनको लक्ष्य काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रनमा समेटियो।
काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले सर्वाधिक ३८ रनको योगदन दिए भने सुनाम गौतमले १८ रन बनाए। त्यस्तै एलेक्स ब्लेकले ११ रन बनाए भने कमलसिंह ऐरीले अविजित १९ रन जोडे।
लुम्बिनीका लागि हरमित सिंहले तीन तथा किशोर महतो, श्याड्ली भान, तिलक भण्डारी र ह्यारी टेक्टरले समान एक-एक विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५० रन बनाएको थियो।
लुम्बिनीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ४० रन जोडे भने लाहिरू मिलन्थाले २५ तथा स्याड्ली भानले २१ रन बनाए। कुशल भुर्तेलले १९ रन जोडे। अनिल साह १३ रनमा आउट हुँदा हरमित सिंहले १२ बनाए। काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले दुई तथा अभिनाश बोहरा, एलेक्स ब्लेक, सुनाम गौतम र अनिल खरेलले समान एक-एक विकेट लिए।
पाँच खेलमा अपराजित रहेको लुम्बिनीले १० अङ्क जोडेको छ। लुम्बिनी अङ्क तालिकाको शीर्षस्थानमा रहेको छ। चार खेलमा दुई जित हात पारेको काठमाडौं चार अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।