काठमाडौं– सत्ता साझेदार दलहरुले सरकार सञ्चालनका लागि उच्च स्तरिय संयन्त्र गठन गरेका छन्। उक्त संयन्त्रको संयोजक सत्ता घटकको ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका छन्।
यस्तै, एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा समिति गठन भएको छ। एमाले महासचिव शंकर पोखरेलले सामाजिक संजालमार्फएत उक्त जानकारी दिएका हुन्।
‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई प्रभावकारी बनाउन अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा रहेका दलहरुका बीचमा सहकार्य र समन्वयका लागि उच्चस्तरीय संयन्त्र र एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा न्युनतम् साझा कार्यक्रम मस्यौदा समिति गठन भएको छ,’ पोखरेलले फेसबुकमा लेखेका छन्, ‘यसबाट नयाँ सरकारको काम जनअपेक्षाअनुरुप अघि बढाउन सहयोग पुग्नेनै छ।’
सत्ता साझेदार दलहरुको बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।