काठमाडौं– गत वर्षभन्दा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्ष साढे तीन लाख मेट्रिक टनले धान उत्पादन बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार यो वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन हुने देखिएको छ। यो गत वर्षभन्दा तीन लाख ५५ हजार ८४७ मेट्रिक टनले धेरै हो।
आर्थिक वर्ष २०७८–७९ मा ५१ लाख ३० हजार ६२५ मेट्रिक टनमात्रै धान उत्पादन भएको थियो। यो वर्ष प्रतिहेक्टर उत्पादकत्व ३.७९ प्रतिशतले वृद्धि हुँदा समग्र धान उत्पादन वृद्धिदर गत वर्षको भन्दा ६.९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यो भारी वृद्धि रहेको सरकारी दाबी छ।
रोपाइँको क्षेत्रफल घटे पनि यो वर्ष धान उत्पादनमा वृद्धि हुने देखिएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए।
अघिल्लो वर्षभन्दा यो वर्ष २० हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन घटेको छ। गत वर्ष कुल १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकोमा यो वर्ष १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।