काठमाडौं- नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सरकारमा जाने कि नजाने भन्ने विषयमा आफ्नो पार्टीले निर्णय गर्न बाँकी नै रहेको बताएका छन्। बिहीबार फेसबुकमा लेख्दै उनले त्यसबारे छलफल भने चलिरहेको बताएका हुन्।
‘प्रचण्ड नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा निर्णय गरिसकेको छैन, छलफल चल्दैछ। तसर्थ, कुनै पनि प्रकारका प्रायोजित प्रचारको भ्रममा परेर धारणा बनाउन हुँदैन’, उनले लेखेका छन्।
त्यस्तै, खतिवडाले एकीकृत समाजवादी कुनै पार्टीसँग एकीकरण गर्ने गरी अगाडि नबढेको पनि बताएका छन्। ‘यतिबेला पार्टी सुदृढीकरणको योजना बनाउँदै छ। पार्टी विस्तारका अभियानहरू कसरी अगाडि बढाउने भनेर विचार विमर्शमा छ। स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरु आयोजना गर्ने तयारी गर्दैछ’, उनले लेखेका छन्।
कांग्रेस नेतृत्वको गठबन्धनमा माओवादी केन्द्र र एकीकृत समाजवादी दुवै सँगै थिए। तर, प्रचण्डले एमालेको साथ लिएर सरकारको नेतृत्व लिएपछि एकीकृत समाजवादी पनि सहभागी हुने आकलन गरिएको छ।
बुधबार प्रचण्ड र माधव नेपालबीच भेट पनि भएको थियो। नेपालले प्रचण्ड नेतृत्वको सरकारलाई नकारात्मक रुपमा हेर्नुपर्ने कारण नभएको पनि बताइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।