काठमाडौं– बलात्कार घटनामा जोडिएका क्रिकेटर सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध दिएको पुनरावलोकनको निवेदनमाथि उच्च अदालत पाटनमा बिहीबार सुनुवाइ हुन पाएन। बिहीबारका लागि पेसी तोकिएकोमा हेर्न नभ्याइने हुँदै सरेको छ।
सन्दीपको निवेदनको पेसी उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा तोकिएको थियो। तर बिहीबार हेर्न नभ्याइने हुँदै उक्त निवेदनमाथि सुनुवाइ हुन सकेन।
नाबालिक किशोरीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावलोकन निवेदन दिएका थिए।
यसअघि सन्दीपका कानुन व्यवसायीले पीडित भनिएकी किशोरी बालिग रहेको दाबी गर्दै जन्मदर्ता लगायतका कागजात समेत पेस गरेका थिए। सन्दीप पक्षले उक्त कागजात पेस गरेपछि अदालतले अस्पतालबाट किशोरीको बर्थ सर्टिफिकेट झिकाउने आदेश दिएको थियो।
भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेको दाबी गरिएको छ। पीडित भनिएकी किशोरीले आफूमाथि सन्दीपले पटक–पटक बलात्कार गरेको बयान दिएकी छन्।
उक्त घटनालगत्तै क्रिकेट खेल्न विदेश पुगेका सन्दीप नर्फिकएपछि प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोलमार्फत् डिफ्युजन नोटिस नै जारी भएको थियो। त्यसपछि सन्दीप असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए।
पछि कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको थियो। त्यसयता उनी केन्द्रीय कारागार सुन्धारामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।