काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुन सर्त राखेको छ। उसले उपसभामुख र चार मन्त्रीको माग गरेको हो।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार केही दलको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको माग प्रस्तुत गरेको एक नेताले जानकारी दिए। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी थिए।
'उपसभामुख र चार मन्त्री पाए आफूहरु सरकारमा सहभागी हुने माग राजेन्द्रजीले राख्नुभएको छ', बैठकका छलफलबारे जानकार एक नेताले बताए।
आइतबार प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गर्नुअघि सभामुख एमालेलाई दिने समझदारी भइसकेको बताइएको छ। राष्ट्रपति पनि उसैले पाउने छ।
प्रतिनिधि सभामा राप्रपाका १४ सांसद छन्। केही दिनअघि बसेको पदाधिकारी बैठकले सरकारलाई समर्थन गरे पनि सरकारमै सहभागिता नजनाउने निर्णय गरेको थियो। तर बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले सरकारमा सहभागिताको पक्षमा धारणा राखेका थिए।
प्रधानमन्त्रीमा प्रचण्डले दाबी पेश गर्दा राप्रपाले पनि साथ दिएको थियो।
प्रधानमन्त्री प्रचण्डले गत सोमबार सपथ लिँदा एमाले, माओवादी केन्द्र र राप्रपाका एक-एक उपप्रधानमन्त्री नियुक्त गरेका थिए। त्यस्तै, एमालेका तीन र जनमत पार्टीका अब्दुल खान नियुक्त भएका थिए। उनीहरुले त्यसै दिन सपथ लिइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।