काठमाडौं– राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाइटेडलाई पराजित गर्दै विजयी भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरमा नौ रनले पराजित गर्दै विजयी भएको हो। यसजितसँगै लुम्बिनीले प्रतियोगितामा लगातार चाँैथो जित दर्ता गराएको छ। चार खेल खेलको लुम्बिनीले आठ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थान छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको फार वेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनायो। एक सय ३८ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनीले २० ओभरमा नौ विकेट गुमाएर १३७ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।
सुपर ओभरमा पहिले ब्याटिङका गरेको लुम्बिनीले १९ रन बनाएको थियो। लुम्बिनीका लहिरू मिलन्थाले १५ र साड्ले भान स्कल्कवेकले तीन रन बनाए। लुम्बिनीले एक रन भने अतिरिक्त पाएको थियो।
२० रनको लक्ष्यसहित ब्याटिङमा उत्रेको फार वेस्ट १० रनमा समेटियो। फार वेस्टका हस्मतुल्लाह साहिदीले आठ रन बनाउँदा विनोद भण्डारीले दुई रन बनाए। त्यसअघि २० ओभरको खेलमा लुम्बिनीका गुल्शन झाले सर्वाधिक अविजित ३६ रन बनाएका थिए। उनले २४ बलमा तीन चौका र एक छक्का प्रहार गरे। त्यसैगरी लहिरु मिलन्थाले ३४ तथा विपुल शर्माले ३१ रन जोडे।
फार वेस्टका करण केसी र शेर मल्लले समान दुई विकेट लिए भने राशिद खान, उमैर अलि हस्मतुल्लाह साहिदी र भुवन कार्कीले समान एक÷ एक विकेट लिए।
यता फार वेस्टका लागि भने देव खनालले सर्वाधिक ४८ रन बनाएका थिए। उनले ४२ बलमा पाँच चौकासहित ४८ रन बनाएका हुन्। कप्तान हस्मतुल्लाह साहिदीले ३२, भीम सार्कीले १५, करण केसीले १२ तथा हसिम अन्सारी र विनोद भण्डारीले समान ११÷११ रन जोडेका थिए।
लुम्बिनीका साड्ले भान स्कल्कवेकले दुई विकेट लिए भने हर्मित सिंह, किशोर महत्तो र सागर ढकालले समान एक÷एक विकेट हात पारे। यससँगै तीन खेलबाट दुई अङ्क जोडेको फार वेस्ट तालिकाको चौँथो स्थानमा छ।
प्रतियोगिताको विजेताले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै तेस्रो हुनले रु १० लाख तथा चौँंथोले रु पाँच लाख पाउने छन्। प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।