काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर पक्षले सभापति शेरबहादुर देउवाको राजीनामा र विशेष महाधिवेशनको विषयलाई केन्द्रीय कार्य समितिको बैठकमा उठाउने भएको छ। सभापति देउवाका कारण कांग्रेसले सत्ता गुमाएपछि बसेको संस्थापन इतरको बैठकपछि प्रतिक्रिया दिँदै सह महामन्त्री बद्री पाण्डले यस्तो बताएका हुन्।
‘पार्टी पंक्तिमा र जनस्तरमा विशेष महाधिवेशन बोलाउने र पार्टी सभापतिले राजीनामा दिनुपर्छ भन्नेबारेमा माग उठेको छ। यो विषय कार्यसमितिको बैठकमा लिएर निर्णयमा पुर्याउनुपर्छ,’ उनले भने।
सहमहामन्त्री पाण्डेले पार्टी पंक्तिमा निराशा छाएको कुराले जनतामा पनि निराशा छाएको भन्दै राजनीतिक घटनाक्रमबारे केन्द्रीय कार्यसमितिको बैठकमा गम्भीर समीक्षा गर्नुपर्ने विषयमा छलफल केन्द्रीत भएको बताए। कांग्रेसले अबका दिनमा निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भूमिकामा कसरी प्रभावशाली बन्ने बारेमा सोच्नुपर्ने उनको भनाइ छ।
उनले भने, ‘हाम्रो पार्टीमा निराशा भएको कुरामा कसले कहाँबाट गल्ती भएको हो, त्यसमा समीक्षा हुनुपर्छ भन्नेबारेमा खुला ढंगले छलफल गर्नेछौँ। हाम्रो निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भूमिकामा कसरी प्रभावशाली बन्ने बारेमा केन्द्रीय कार्यसमितिमा छलफल हुनेछ।’
अर्का सहमहामन्त्री जीवन परियारले पुस १० गतेको घटनालाई सामान्य रुपमा लिन नमिल्ने निष्कर्ष आफ्नो पक्षले निकालेको बताएका छन्। सहमहामन्त्री परियारले देशकै ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको कुराले पार्टीमा ठूलो असर परेको बताए।
उनले भने, ‘राजनीतिक रुपमा ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्नबाट चुक्नुले देश तरंगित बनेको छ। केन्द्रीय कार्यसमितिको बैठकमा यसको समीक्षा हुन जरुरी छ।’
नेपाली कांग्रेस संस्थापन इतर पक्षको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइराला, चन्द्र भण्डारीलगायतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।