पर्सा–अपहरण गरी बेपत्ता पारिएका वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया खल्वाटोलाका १४ वर्षीय बालक निजरकुमार पासवानको शव एक महिनापछि भेटिएको छ। गत मंसिर ५ गते अपहरणमा परेका बालकको शव एक महिनापछि पुस १० गते सेफ्टी ट्यांकीमा फेला परेको हो।
सिर्सिया खोल्वाटोलमा रहेको गुरुकुल पन्ना मेमोरियल इंग्लिस बोर्डिङ स्कूलको कक्षा ८ मा अध्ययनरत विद्यार्थी पासवान गत मंसिर ५ गते अपहरणमा परेका थिए। अपहरणमा परी बेपत्ता पारिएका बालकको शव उक्त स्कूलको पुरानो भवनको सेफ्टी ट्यांकीमा फालिएको अवस्थामा पुस १० गते भेटिएको थियो।
त्यसपछि अनुसन्धानमा खटिएको प्रहरीले टोलीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा वीरगञ्ज–१७ अलौका २४ वर्षीय कृष्णा भनिने श्यामप्रसाद यादव र पर्साको धोबनी गाउँपालिका–१ का घोडदौडपिप्राका ३० वर्षीय दीलिपकुमार पटेल रहेको पर्सा प्रहरीका प्रवक्ता दीपक गिरीले बताए
अपहरण गरेर उनीहरुले फिरौती रकम माग गरेका थिए। फिरौती रकम माग गर्न प्रयोग भएको सीमसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेर सार्वजनिक गरेको छ। मंसिर ५ गते उनीहरुले बालकलाई अपहरण गरी हात खुट्टा तथा मुखमा पट्टी बाँधी राखेका थिए।
अपहरणकारीबाट फुत्किएर बालक भाग्न खोजेपछि पहिचान खुल्ने डरले उनीहरुले बालकलाई हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। अपहरण गरिएको १२ दिनपछि बालकका हजुरबुवा हजारा दुसादलाई फोन गर्दै उनीहरुले ५० लाख रुपैयाँ फिरौतीसमेत माग गरेका थिए।
पक्राउ परेकाहरुविरुद्ध अपहरण तथा शरीर बन्धक बनाई कर्तव्य ज्यान गरेको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।