काठमाडौं– तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारत सम्बन्ध थप बलियो बन्ने दाबी गरेका छन्। भारतीय टेलिभिजन एबीपी न्यूजसँगको अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीचको इतिहास, भूगोल, संस्कृति लगायतका कुरामा अझ मजबुत हुँदै जाने दाबी गरे।
उनले प्रधानमन्त्रीमा नियुक्त भएपछि सबैभन्दा पहिले भारतीय राजदूतले फोन गरेर बधाई दिएको र दोस्रोमा प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीले बधाई दिनुले पनि भारतसँग आफ्नो सम्बन्ध कस्तो छ भन्ने देखाउने बताए।
उनले भने, ‘जब म प्रधानमन्त्रीको रुपमा नियुक्त भएर राष्ट्रपति भवनबाट बाहिर निस्कँदै गर्दा भारतीय राजदूतले फोन गरेर बधाई दिनुभो। लगत्तै प्रधानमन्त्रीका रुपमा मोदीले ट्विट गरेर बधाई दिनुभो। संयोग भनौं प्रधानमन्त्री भइसकेपछि पहिलो अन्तर्वार्ता पनि भारतीय च्यानललाई नै दिएको छु।’
उनले यसअघि भारत भ्रमणका क्रममा दुई देशका नेताहरुबीच भएका प्रतिबद्धतालाई पूरा गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा प्राप्त मत परिणाम र जनताको चाहना अनुसार नै अहिलेको सरकार बनेको दाबी गरे।
साथै पार्टीका आ–आफ्ना विचार र अजेण्डा हुने भए पनि संविधान कार्यान्वयनका लागि सबै एकै ठाउँमा आएर सरकार निर्माण गरेको दाबी गरे।
तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेपछि भारतीय टेलिभिजनसँग प्रचण्डले दिएको पहिलो अन्तर्वार्ता
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।