काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी सरकारमा जानका लागि तीन शर्त तेर्स्याएका छन्। माओवादी केन्द्रका विषयमा आफ्नो धारणा नबदलिएको बताउँदै उनले ‘कुनै हालतमा सरकारमा जानु हुँदैन’ भन्ने पक्षमा आफू रहेको बताएका छन्।
उनले ट्विटरमा लेखेका छन्, ‘प्रचण्डबारेको मेरो पुरानो व्यक्तिगत धारणा यथावत् छ। तर बहुमतको सरकार नै बन्न नसक्ने अवस्था देखिएका कारण अन्तिम घडीमा राप्रपाले सरकार निर्माणमा समर्थन गरेको हो।’
राप्रपाको बैठकले निर्णय गरिसक्दा बाहिर अरू केहीले पनि समर्थन गरिसकेको उनले बताएका छन्। ‘जसले गर्दा धेरैलाई राप्रपाले समर्थन नगरेको भए पनि बहुमतको सरकार निर्माण हुन्थ्यो भन्ने पर्यो। जुन साँचो हो। तर अवस्था सोचेभन्दा फरक किसिमबाट विकसित भएको थियो,’ उनको भनाइ छ।
उनले सरकारलाई समर्थनको निरन्तरताका लागि राप्रपाले कम्तिमा ३ वटा शर्त राख्न उपयुक्त हुने बताएका छन्।
जुन यसप्रकार छन् :
१ पौष २७ गतेलाई ‘राष्ट्रिय एकता दिवस’ अथवा ‘नेपाल दिवस’ घोषणा गरियोस्।
२ संविधानको अन्तिम मस्यौदा तयार पार्दा संविधानसभाले जनतासँग धर्म निरपेक्षताबारे संकलन गरेको ‘जनमत’को यथार्थ विवरण सार्वजनिक गरियोस् र जनचाहना अनुरूप निर्णय गरियोस्।
३ उच्चस्तरीय नागरिक आयोग गठन गरेर २०४६ सालपछिका सबै उच्चपदस्थको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाही गरियोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।