काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले मुखमै आइसकेको प्रधानमन्त्री पद गुमाए नै, नेपाली कांग्रेसलाई कैयौँ अवसरबाट बाहिर पुर्याए। २०७८ असार अन्तिमदेखि प्रधानमन्त्री रहेका देउवा पुस १० गते पुनः प्रधानमन्त्री नियुक्त हुन चाहन्थे। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेस नै भएका कारण उनको चाहना स्वभाविक पनि थियो।
देउवाको आफ्नै पार्टीसँग एकल बहुमत थिएन। जसका कारण गठबन्धन सञ्चालनमा उनले चातुर्यता देखाउनुपर्ने थियो। त्यसो गर्न नसक्दा प्रतिनिधि सभाको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भए।
देउवा र प्रचण्डबीच सत्ता हस्तान्तरणको पूर्वसहमति रहेको र त्यो पालना नभएकाले प्रचण्ड नयाँ समीकरणका साथ प्रधानमन्त्री नियुक्त भएका विषय सार्वजनिक भएका छन्। भद्र सहमति पालना नहुँदा नेपालको सत्ता राजनीतिले अनेक दुःखान्त भोग्दै आएको छ। २०७२ मा संविधान जारी भएपछि नै पटकपटक त्यसको पुनरावृत्ति भइरहेको छ।
सुशील कोइराला/केपी शर्मा ओली
दोस्रो संविधान सभाले पनि संविधान जारी गर्न नसकिरहेको बेलामा २०७२ जेठ २५ गते राति संविधान सभाका चार दलहरु कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकबीच १६ बुँदे सहमति भयो। र सोही मार्गचित्र अनुसार असोज ३ गते संविधान जारी भयो। त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भयो। जेठमा सहमति हुँदा संविधान जारी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति पनि भएको थियो।
तर जब नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु भयो, त्यतिबेलाका निवर्तमान प्रधानमन्त्री सुशील कोइरालाले पनि उम्मेदवारी दिए। उनको उम्मेदवारीलाई अन्य दल र कांग्रेसकै नेताहरुले पनि स्वाभाविक रुपमा लिएनन्। खासगरी उनी दक्षिणी शक्तिको विश्वास र प्रभावमा परेको भन्दै आलोचना भयो। अन्य दलको सहयोगमा ओली प्रधानमन्त्री बने। अर्कोतिर कोइरालाले आलोचना त खेपे नै, कांग्रेसलाई पनि प्रतिपक्षी कित्तामा पुर्याए।
केपी शर्मा ओली/पुष्पकमल दाहाल प्रचण्ड
२०७२ असोजमा केपी शर्मा ओलीले एमाओवादीको प्रमुख साथ लिएर सरकार गठन गरे। सुरुवातमा दुई दलबीचको सम्बन्ध ठीकै चलिरहेको थियो। २०७२ फागुनमा कांग्रेसको तेह्रौँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि एमाओवादी अध्यक्ष प्रचण्डलाई सत्ता सहकार्यका सन्देश पठाउन थाले। साथै, प्रधानमन्त्रीको प्रस्ताव पनि गरे। त्यसपछि २०७३ वैशाखमा एमाले र माओवादीको सत्ता सहयात्रामा गडबडी सुरु भयो। प्रचण्डले आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयत्न सुरु गरे।
माओवादीलाई एमालेसँगको गठबन्धनबाट बाहिरिन नदिन एमालेका नेताहरुले विश्वास दिलाए- बजेटपछि ओलीले प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने र गठबन्धनलाई निरन्तरता दिने। एमाले र माओवादीको बीचमा यस किसिमको भद्र सहमति भएपछि प्रचण्ड थामिए। तर, ओलीले सहमति पालना गरेनन्। त्यसपछि एमाओवादीकै नेतृत्वमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याइयो। त्यसमाथि मतदान हुनुअघि उनले राजीनामा दिए। र कांग्रेसको साथ लिएर प्रचण्ड प्रधानमन्त्री भए।
पुष्पकमल दाहाल प्रचण्ड/शेरबहादुर देउवा
कांग्रेससँग मिलेर २०७३ साउनमा एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्दा निर्वाचनअघिको बाँकी अवधि प्रचण्ड र देउवाले आलोपालो प्रधानमन्त्री बन्ने भद्र सहमति भएको थियो। प्रचण्डले यो सहमति पालना गरे।
२०७४ जेठमा प्रचण्डले राजीनामा दिने तयारी गर्दा प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरुले समेत उनले राजीनामा दिन नहुने धारणा राखेका थिए। तर उनले सहमति अनुसार देउवालाई सत्ता हस्तान्तरण गरे। सहजै भएको सत्ता हस्तान्तरणबाट खुसी भएका देउवाले प्रचण्डलाई सदनमै राजनेताको संज्ञा दिएका थिए।
केपी शर्मा ओली/पुष्पकमल दाहाल प्रचण्ड
२०७४ मंसिरको निर्वाचनमा एमाले र माओवादी केन्द्र मिलेर निर्वाचन मात्रै लडेनन्, पार्टी एकताको वाचा पनि गरे। २०७५ जेठ ३ गते पार्टी एकता हुनुअघि गरिएको गोप्य सहमतिमा उनीहरुले 'समानता र समान अवधिका आधारमा आवश्यकता अनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने' उल्लेख थियो।
तर ओलीले सहमति पालना नगर्ने छनक देखाउन थालेपछि प्रचण्डले तत्कालीन नेकपाको अर्को धार माधवकुमार नेपालको साथ लिएर ओलीमाथि दबाब बढाए। जसले नेकपामा किचलो सुरु गर्यो। प्रतिनिधि सभा विघटन, नेकपा विभाजनदेखि अनेक उलटफेर सिर्जना भए। प्रचण्ड त प्रधानमन्त्री बन्न पाएनन् नै, ओलीले पनि सत्ता छाड्नुप-याे। ओली नेतृत्वको एमाले प्रदेश सरकारबाट पनि बाहिरिनुपर्यो।
शेरबहादुर देउवा/पुष्पकमल दाहाल प्रचण्ड
प्रचण्ड लगायतको जोडबलमा २०७८ असारमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका थिए। त्यतिबेला प्रधानमन्त्री बन्ने गणित अनुकूल नभएको भन्दै प्रधानमन्त्री बन्न खासै सक्रियता नदेखाएका देउवालाई प्रचण्ड र माधव नेपाल लगायतले भरोसा दिलाएका थिए। सोही अनुसार प्रतिनिधि सभाबाट विश्वासको मत पाउन पनि सके। यही गठबन्धन चलिरहेकै थियो।
गत मंसिर ४ को निर्वाचनपछि भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग आलोपालो प्रधानमन्त्री बन्ने पहिलेकै सहमति अनुसार दाबी पेश गरेका थिए। उनीहरुबीच कहिले र कसरी सहमति भएको थियो भन्नेचाहिँ विस्तृत विवरण सार्वजनिक भएको छैन। यद्यपि, गत पुस ४ गते चितवनमा बोल्दै प्रचण्डले भनेका थिए- ‘आलोपालोका विषयमा लिखित र औपचारिक सहमति भएको थिएन। गठबन्धन गर्दा आलोपालो गर्ने भन्ने सहमति भएकै हो। त्यो अहिले पनि कायमै छ।’
यही सहमति अनुसार प्रचण्डलाई सत्ता हस्तान्तरण गर्न पार्टीभित्र र गठबन्धनका अन्य दलबाट देउवालाई दबाब परेको थियो। तर, उनले अस्वीकार गरे। बरु एमालेको साथ लिएर सरकार गठन गर्ने आत्मविश्वासमा अडिए। तर, एमालेले माओवादी केन्द्रलाई साथ दिएर प्रचण्डलाई प्रधानमन्त्री बन्न सघायाे। परिणामतः देउवाले प्रधानमन्त्री मात्रै गुमाएनन्। सत्ताका अनेक अवसरबाट कांग्रेसलाई वञ्चित तुल्यायाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।