काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)ले बुधबार संसदीय दलको नेता चयन गर्दैछ। जसपाका अध्यक्ष उपेन्द्र यादव पराजित भएपछि जसपाको संसदीय दलको नेता सर्वसम्मत चुनिने सम्भावना कमजोर बनेको छ।
सुनसरी- १ बाट निर्वाचित संघीय परिषद् अध्यक्ष अशोक राईको संसदीय दलको नेतामा स्वभाविक दाबी छ। अध्यक्ष यादवपछि पदीय हैसियतमा आफू भएका कारण संसदीय मोर्चाको नेतृत्वका लागि राईले आकांक्षा देखाएका छन्।
तर, राईको नाममा सर्वसम्मति हुन नसकेकै कारण संसदीय दलको नेता चयन प्रक्रियामा ढिलाइ भएको जसपाका एक नेता बताउँछन्। उनी भन्छन्, ‘पदीय हिसाबले उहाँलाई नै नेता बनाउनुपर्छ। तर, पार्टीभित्र अन्य कोणबाट पनि कुरा उठिरहेको छ।’
‘अन्य कोण’को अर्थ जसपा मधेस प्रदेश केन्द्रित दल भएकाले त्यही क्षेत्रका नेतालाई संसदीय दलको नेता बनाउनुपर्ने माग रहेको उनले बताए। उनले भने, ‘यो पार्टी मधेस आन्दोलनकै जगमा बनेको हो। संसदीय दलमा यो बाहेकका क्षेत्रकालाई नेता बनाउँदा प्रश्न उठ्ने साथीहरुले बताइरहनुभएको छ।’
राईलाई संसदीय दलको नेता बनाउन नसकिने आवाज बढ्दा अन्य २ जना प्रतिस्पर्धामा हुनेछन्। महासचिव रामसहाय यादवका साथै नेता राजकिशोर यादवले संसदीय दलको नेतामा दाबी गरेका छन्।
प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन्। जसपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ। तर, संसदीय दलको नेता चयन गरिनसकेका कारण सरकारमा सहभागिता जनाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।