काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई झुक्याएको बताएका छन्।
सुदूरपश्चिमबाट निर्वाचित पार्टीका जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आइतबार अन्तिम बेलासम्म एमालेले कांग्रेसलाई समर्थन गर्ने भनेर झुक्याएको नेपालको भनाइ छ।
‘त्यस दिन बिहानै ओलीले देउवाजीलाई फोन गरेर तपाईं प्रधानमन्त्री नछाड्नुस्, हामी तपाईंलाई समर्थन गर्छौँ भनेर भनेका रहेछन्,’ अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै एक सांसदले बताए।
प्रचण्डले गठबन्धन छाडेर हिँडे पनि फरक नपर्ने, बरु त्यतिबेला आफूहरुले कांग्रेसलाई समर्थन गर्ने भनेर ओलीले देउवालाई झुक्याइदिएको अध्यक्ष नेपालको भनाइ थियो।
‘प्रचण्ड गठबन्धन सकियो भनेर बालुवाटारबाट बाहिरिँदा पनि देउवालाई एमाले आएर समर्थन गरिदिन्छ भन्ने विश्वास रहेछ। तर ४ बजे बालकोटमा हस्ताक्षर भइसकेको थियो,’ नेपालको भनाइ थियो।
बालकोटमा हस्ताक्षर भइसकेपछि देउवाले आफूलाई फोन गरेर प्रचण्डलाई पहिलो कार्यकाल नै प्रधानमन्त्री दिने भन्दै बालुवाटारमा ल्याउन भनेको, तर आफूले समय बितिसकेको जवाफ फर्काएको नेपालको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।