वीरगञ्ज– वीरगञ्जसहित पर्साका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गर्ने समूहका ४ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट चोरीका ८ वटा मोटरसाइकल फेला परिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
प्रहरीका अनुसार यही शनिबार साँझ ५ बजेतिर वीरगञ्जस्थित दूरसञ्चार कार्यालयको अगाडिबाट १ जना युवकले शंकास्पद रुपमा प्रदेश २-०३-००७ प १७६६ नम्बरको मोटरसाइकल स्टार्ट गरी चलाएर गएका थिए। तत्काल वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लियो।
प्रारम्भिक अनुसन्धानबाट वीरगञ्ज महानगरपालिका–२६ वर्षी २० वर्षीय राम प्रवेश पटेल भएको खुल्यो। उनले मास्टर साँचोको प्रयोग गरेर पर्साको धोबिनी गाउँपालिका–४ का रामबाबु कुमार गुप्ताको मोटरसाइकल स्टार्ट गरेर भागेका थिए।
मोटरसाइकल चोरी गर्ने क्रममा नै पक्राउ परेका राम प्रवेशको बयानका आधारमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्ने अन्य ३ जनामा वीरगञ्ज–२६ कै २६ वर्षीय अशोक पटेल, वीरगञ्ज–२४ का २० वर्षीय आकाश तिवारी र भारतको बिहार घर भएका १९ वर्षीय शिवम पाण्डे छन्।
प्रहरीका अनुसार उनीहरुले यसअघि वीरगञ्ज र आसपासका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गर्ने गरेका थिए। प्रहरीले उनीहरुको साथबाट ना ५२ प ५०२४, ना २७ प ७८४७, ना ११ प ११२१, ना ५३ प ७१०६, ना ३७ प ९८१८, ना ४६ प ८६२७ र मधेस प्रदेश– ०३-००८ प ७१८६ नम्बरको गरी ८ वटना मोटरसाइकल बरामद गरेको छ।
पक्राउ परेका चारै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक गिरीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।