काठमाडौं– सिंहदरबारमा मन्त्रिपरिषद्को पहिलो बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद्भार ग्रहण गरेपछि मन्त्रिपरिषद्को बैठक सुरु भएको हो।
बैठकमा प्रधानमन्त्रीसहित सबै उपप्रधानमन्त्री र मन्त्रीहरु सहभागी छन्।
एमाले–माओवादी केन्द्रसहित ७ दलको समर्थनमा आइतबार प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए। सोमबारै ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।
शपथपछि शहीद स्मारकमा माल्यार्पण गर्न लैनचौर पुगेका प्रचण्ड त्यसपछि कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गर्न कीर्तिपुर पुगेका थिए। कीर्तिपुरबाट फर्किएर माओवादी केन्द्रको पार्टी कार्यालय पेरिशडाँडा पुगेर शहीद स्मारकमा माल्यार्पण गरेका थिए। माल्यार्पणपछि प्रचण्डले सिंहदरबार पुगेर कार्यभार सम्हालेका थिए।
प्रचण्ड नेतृत्वको सरकारको प्रारम्भिक मन्त्रिपरिषद्मा नेकपा एमालेबाट १ उपप्रधानमन्त्री र ३ जना मन्त्री, माओवादी केन्द्रबाट १ उपप्रधानमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १ उपप्रधानमन्त्री र जनमत पार्टीबाट १ मन्त्री नियुक्त भएका छन्।
एमालेका विष्णु पौडेलले उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्। एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई मन्त्री नियुक्त भएका छन्। माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्टी सभापति एवम् संसदीय दलका नेता रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री नियुक्त भएका छन्। यस्तै, जनमत पार्टीबाट अब्दुल खान मन्त्री नियुक्त भएका छन्। मन्त्रीहरुको जिम्मेवारी भने तोकिन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।