काठमाडौं– नेपाली कांग्रेसका नेता (केन्द्रीय सदस्य) डा शेखर कोइरालाले सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको बताएका छन्।
कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन भत्किएर माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार गठन भएपछि एक विज्ञप्ति जारी गर्दै कोइरालाले पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई निराश नहुन आग्रह गरेका छन्। ‘सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन। हामी थप सशक्त भएर कांग्रेस सशक्तिकरणको अभियानमा जुट्न दृढ संकल्प गर्छौं,’ कोइरालाले विज्ञप्तिमा भनेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सत्तारोहण अपेक्षित नभए पनि बहुमत जुटाएर प्रधानमन्त्री बनेको भन्दै कोइरालाले प्रचण्डलाई बधाई ज्ञापन गरेका छन्। संसद्को तेस्रो शक्ति भएपनि माओवादीले सरकारको नेतृत्व गर्ने अवस्था आउनुलाई कोइरालाले अराजनीतिक र अराजकताको पराकाष्ठाको रुपमा अर्थ्याएका छन्।
‘संसद्बाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन। संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ,’ कोइरालाले विज्ञप्तिमा भनेका छन्।
‘संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनेर पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी असम्भव भयो भनेर गम्भीर प्रश्न उठेको कोइरालाको भनाइ छ।
‘हामीले यसको चित्तबुझ्दो जवाफ कांग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुक लगायत सबै आम नेपालीमाझ दिनुपर्छ भन्ने मान्यता म राख्छु,’ कोइरालाले भनेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।