काठमाडौं– नवगठित मन्त्रिपरिषद्मा नेकपा एमालेले पठाएका राजेन्द्र राई र दामोदर भण्डारी संसदीय राजनीतिमा नयाँ अनुहार हैनन्। तर सत्ता राजनीतिमा भने राई विल्कुल नयाँ हुन् भने भण्डारी २०७२/०७३ मा छोटो समय अर्थ राज्यमन्त्री भएका थिए।
को हुन् बिना विभागीय मन्त्री राई?
राजेन्द्र राई, धनकुटा
मन्त्रालयः बिना विभागीय
५६ वर्षीय राई नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। उनले २०६६ देखि करिब ९ वर्ष जिल्ला कमिटीको नेतृत्व गरेका थिए। तत्कालीन नेकपा गठनपछि पनि राई नेकपा धनकुटाका अध्यक्ष भएका थिए। २०७८ मंसिरमा भएको एमालेको १०औं महाधिवेशनबाट राई केन्द्रीय सदस्यमा चयन भएका हुन्। राई हाल एमाले धनकुटाका इन्चार्ज हुन्।
संसदीय राजनीतिक यात्रा
२०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा राई धनकुटाबाट उम्मेदवार रहे पनि पराजय बेहोरेका थिए। उनी तत्कालीन राप्रपाका नेता सुनिल थापासँग पराजित भएका थिए। २०७४ मा भएको आमनिर्वाचनमा भने राईले उनै थापालाई पराजित गर्दै पहिलोपटक संसदीय यात्रा तय गरेका थिए। राईले मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा उनै थापालाई पराजित गर्दै संसदीय यात्रालाई निरन्तरता दिएका छन्।
सत्ता यात्रा
संसदीय राजनीतिमा अनुभवी भए पनि राई सत्ता राजनीतिमा पहिलोपटक सहभागी भएका छन्। सोमबार मन्त्रीको शपथ लिएका राई बिना विभागीय मन्त्री बनेका छन्। उनलाई प्रधानमन्त्री प्रचण्डले केही दिनभित्र कार्यभार तोक्नेछन्।
दामोदर भण्डारी, बैतडी
मन्त्रालयः बिना विभागीय
४८ वर्षीय दामोदर भण्डारी नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष हुन्। उनी २०४६ सालमा जनआन्दोलनबाट प्रभावित भएर राजनीतिमा आबद्ध भएका थिए। सुरुवातमा अनेरास्ववियुमा आबद्ध उनी एमालेको बैतडी सदस्य हुँदै सचिव (त्यतिबेलाको कमिटी प्रमुख) र अध्यक्ष समेत भएका थिए।
संसदीय राजनीतिमा ‘ह्याट्रिक’, गर्दा सत्तामा दोस्रो पटक
भण्डारीले संसदीय राजनीतिमा प्रतिस्पर्धा गर्न थालेको २०६४ को पहिलो संविधान सभा निर्वाचनबाट हो। तर उनी उक्त निर्वाचनमा पराजित भए। भण्डारीले तत्कालीन बैतडी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरेका थिए।
२०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा भण्डारी दोस्रो प्रयासमा सोही क्षेत्रबाट निर्वाचित भए। त्यस्तै, संविधान जारी भएपछि २०७४ मा भएको आमनिर्वाचनमा भण्डारीले पुन: बैतडीबाट जित निकाले। मंसिर ४ को निर्वाचनमा भण्डारीले जितलाई ‘ह्याट्रिक’ मा परिणात गरे।
सत्ता यात्रा
यो बीचमा भण्डारी २०७२ मा केपी ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री बनेका थिए। उनले सत्तामा पुनारागमन गर्न २०७९ को पुससम्म कुर्नु परेको छ। सोमबार मन्त्रीको सपथ लिएका भण्डारी बिना विभागीय मन्त्री बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।