काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पुनः अर्थमन्त्री बनेका छन्। पौडेलले सोमबार राष्ट्रपति कार्यालयमा आयोजित सपथ समारोहमा उनले सपथ लिएका हुन्।
प्रचण्ड र पौडेलको यो दोस्रो सहयात्रा हो। प्रचण्ड २०६५ मा पहिलो पटक प्रधानमन्त्री बन्दा सोही मन्त्रिपरिषद्को सदस्य थिए पौडेल। उनी त्यतिबेला जलस्रोत मन्त्री भएका थिए।
अर्थमन्त्रीका रुपमा भने पौडेलको यो तेस्रो कार्यकाल हो। उनी २०७२ मा ओली पटकपटक प्रधानमन्त्री बन्दा अर्थमन्त्री बनेका थिए। ओलीको दोस्रो कार्यकालमा सुरुवातमा युवराज खतिवडा अर्थमन्त्री थिए। उनी बाहिरिएपछि २०७७ मा पौडेलले नै सो मन्त्रालय सम्हालेका थिए। त्यो उनको दोस्रो कार्यकाल थियो। २०७८ वैशाखमा प्रधानमन्त्री ओलीले राजीनामा दिएर पुनः प्रधानमन्त्री नियुक्त भएपछि पौडेल तेस्रो पटक अर्थमन्त्री बनेका थिए। सोही कार्यकालमा उनी उपप्रधानमन्त्री पनि भएका थिए।
यद्यपि, पौडेल २०५३ मै पहिलो पटक मन्त्री भएका थिए। लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा उनले युवा, खेलकुद तथा संस्कृति मन्त्री भएका थिए। त्यसपछि २०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा रक्षामन्त्री भएका थिए।
६२ वर्षीय पौडेल नेकपा एमालेका उपाध्यक्ष हुन्। एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा गठन हुँदा उनी महासचिव पनि बनाइएका थिए। ३० को दशकमा तत्कालीन मालेबाट राजनीतिक यात्रा सुरु गरेका पौडेल २०४७ मै एमालेको केन्द्रीय सदस्य बनेका थिए।
मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उनी रुपन्देही- २ बाट निर्वाचित भएका थिए।
पौडेल २०५१ को प्रतिनिधि सभा निर्वाचनमा पाल्पा- ३ बाट निर्वाचित भएका थिए। त्यस्तै, २०६४ र २०७० को संविधान सभा निर्वाचनमा रुपन्देही- ४ बाट निर्वाचित भएका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने रुपन्देही- २ बाट निर्वाचित भएका थिए। २०५६ को प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही- ३ मा पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।